काठमाडौँ, १९ असार । पार्टीभित्र देखिएको विवाद समाधानका भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचको आज (शुक्रवार) छलफल सकिएको छ ।
निर्णायक भनिएको आजको छलफलमा नेकपा अध्यक्ष द्वय ओली र प्रचण्डबिच बालुवाटारमा तीन घण्टा कुराकानी भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत साक्षी बसेका थिए ।
दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिस्किएकाले भोलि (शनिवार) फेरि अर्को वार्ता गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
दुई अध्यक्षबिच छलफल सौहाद्रपूर्ण छलफल भएको र प्रधानमन्त्री ओलीले भोलि स्थायी कमिटीको बैठकअघि एकचोटी फेरि छलफल गरौँ भनेको स्रोतले जानकारी दिएको छ । नेकपा स्थायी कमिटीको बैठक शनिवार बिहान ११ बजे बस्दै छ । त्यसअघि दुई अध्यक्षबिच पुनः छलफल हुने नेताहरूले बताएका छन् ।
पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी नै फुट्ने हो कि भन्ने ढङ्गबाट विवाद चर्किएपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबिच वार्ता गर्ने निर्णय भएको थियो ।