४० वर्षम्म बिग्रिएको कृषिलाई ३ वर्षमा सुधार्ने मन्त्री भुसालको प्रतिबद्धता


काठमाडौँ, १४ असार । आगामी तीन वर्ष भित्र विगत ४० वर्षदेखि बिग्रिएको नेपालको कृषि क्षेत्रलाईसुधार गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताएका छन् ।

१७ औँ राष्ट्रिय धान दिवसको अवसरमा एसोसिएसन अफ नेपाली एग्र्रिकल्चरल जर्नालिष्ट(अनाज) द्वारा शनिवार आयोजित कोभिड १९ कृषिमा सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रियामा आगामी सो कुरा मन्त्री भुसालले बताएका हुन ।

विगतमा किसानभन्दा पनि मन्त्रालय र मन्त्री कसरी बलियो हुने भन्नेतर्फ केन्द्रित भएका कारण कृषिप्रधान मुलुक भएर पनि अधिकांश कृषि वस्तु आयात गर्नुपर्ने अवस्थामा पुगेको पनि उनले बताएका छन् ।

उहाँले भन्नुभयो, ३०, ४० वर्ष बिग्रिएको कृषिलाई ३ वर्षमा सपार्न खोजिएको छ, नयाँ कृषि व्यवस्थामार्फत कृषि क्षेत्रको सुधारका लागि मन्त्रालय लागिपरेको छ । मन्त्रालयको पहलमा प्रदेश, स्थानीय तह, समुदाय, सहकारीलगायत सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको पनि भुसालले बताए ।

कोरोनालाई कृषि क्षेत्रको अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्री भुसालले कोरोना महामारीका कारण अन्य क्षेत्र धराशायी भए पनि कृषि क्षेत्र निरन्तर चलायमान रहेकै कारण खाद्यान्न अभावको अवस्था भोग्नु नपरेको बताएका छन् ।

मन्त्री भुसालले कृषि मुलस्च जीवन भन्दै कोरोनाले फेरी पनि कृषि क्षेत्रलाई सम्झाइदिएकोले कृषिलाई अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने बताएका छन् । साथै कृषिलाई बजारको जिम्मा छोडिदिने विगतको प्रवृत्ति कृषि क्षेत्रको विकासमा बाधक बनेको पनि उनले बताए ।

कृषि विज्ञ डा. कृष्ण पौडेलले नगरी भाषण मात्रै दिने प्रवृत्तिका कारण नेपालको कृषि क्षेत्र अस्तव्यस्त बनेको बताए । इमानदारीपूर्वक कृषि बजेट तथा कार्यक्रम कार्यान्वयन गरेमा कृषि क्षेत्रले गति लिने उनको भनाइ छ । उनले कृषिमा आत्मनिर्भरताका लागि संरक्षित तथा प्राङगारिक कृषिमा जोड दिनुपर्ने बताएका छन् ।

रासायनिक मलको प्रयोगभन्दा प्राङगारिक खेतीबाट बढी उत्पादन लिन सकिने दाबी गर्दै पौडेलले प्राङगारिक कृषिका लागि किसानसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले सरकार समयै सचेत नभएमा कोरोना कारण नेपालका खाद्य सङ्कटको अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

किसान प्रतिनिधि कृष्णराज सुवालले किसानले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन नसकेकै कारण उत्पादनको उचित मूल्य पाउनै नसकेको भन्दै बजारीकरणका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने बताएका छन् । पछिल्लो समय ३ लाख लगानी गरेर ७ लाख कमाउने लक्ष्यका साथ आफूले कृषि व्यवसायलाई अगाडि बढाएको भए पनि कोरोनाका कारण उल्टै २ लाख ऋण लागेको गुनासोसमेत उनले गरे ।

त्यस्तै मल बिउको अभाव पनि अर्को समस्याका रूपमा रहेको सुवालले बताए । बिउमा परनिर्भर हुनुपर्ने अवस्थाको अन्त्य नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सुवावले आफै बिउ उत्पादन र रैथाले बिउको संरक्षण गर्नुपर्ने बताए ।

कृषि अनुदानको दुरुपयोग, कृषि प्राविधिक किसानको खेतसम्म नपुग्ने समस्यालगायतका कारण किसानमा निराशा बढ्दै गएको पनि उनले बताए । सुवालले खाद्यान्नमा आत्मनिर्भरताका लागि उत्पादनमा विविधीकरण गरी खानेवानीमासमेत परिवर्तन गरिनुपर्ने र बढी मुनाफाका लागि औद्योगिक बालीको खेतीमा लाग्नुपर्ने बताएका छन् । कार्यक्रमलाई अनाजका अध्यक्ष किरण आचार्य र सदस्य सुरेशकुमार यादवले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्