काठमाडौँमा जेनजी समूहका अभियन्ताद्वारा केपी ओली र रमेश लेखकको गिरफ्तारीको माग


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित युवा समूह सोमबार बेलुका प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

सुदन गुरुङको नेतृत्वमा गएको समूहले दुवै नेतामाथि कानुनी कारबाहीको माग गर्दै निवेदन दर्ता गराएको परिसर स्रोतले जनाएको छ । “उनीहरू बेलुका निवेदन लिएर परिसर आएका थिए,” एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार समूहले ओली र लेखक दुवैलाई पक्राउ गरी घटनासम्बन्धी अनुसन्धान अघि बढाउन माग गरेको छ ।

यसअघि सुदन गुरुङ समूहले सामाजिक सञ्जालमार्फत् पनि दुवै नेताविरुद्ध कानुनी कारबाहीका लागि अभियान सञ्चालन गरेको थियो । दिनभर सामाजिक सञ्जालमा चलाइएको उक्त अभियानपछि समूह साँझ निवेदनसहित प्रहरी परिसर पुगेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्