जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका–८ का वडाध्यक्ष रामकिशोर यादव दलित परिवारको घरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका छन्। उनीसँगै घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार असोज १ गतेको विश्वकर्मा पूजाको अवसरमा गाउँमा ल्याइएको आर्केस्ट्रा कार्यक्रमका क्रममा उत्पन्न विवादपछि यो घटना घटेको हो। विवादको क्रममा पाँच दलित परिवारको घरमा तोडफोड र लुटपाट गरिएको बताइएको छ।
घटनामा संलग्न भएको भन्दै पीडितहरूले १३ जनाविरुद्ध आपराधिक उपद्रवको जाहेरी दिएका छन्। तीमध्ये वडाध्यक्ष यादवसहित तीन जना पक्राउ परेका र बाँकी फरार अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
पीडित परिवारका सदस्य सोभित पासमानका अनुसार उनीहरूले असोज ३ गते नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा शान्ति सुरक्षाको निवेदन दिएका थिए। तर, प्रहरीको उपस्थितिमा नै घरमा तोडफोड र लुटपाट भएको दाबी उनले गरेका छन्।