सी.एन.डब्लु.डी र जिज्ञासु फाउन्डेसनको लक्षित राहत कार्यक्रम सम्पन्न


सुन्दरहरैचा, ५ असार । ‘क्रियटिभ नेप्लिज वुमन ईन डेनमार्क’ (CNWD) र ‘जिज्ञासु फाउन्डेसन’ मोरङको लक्षित राहत कार्यक्रम सम्पन्न भएको छ । ‘जिज्ञासु फाउन्डेसन’ सँगको समन्वयमा डेनमार्क बस्ने नेपाली महिलाहरूको संस्था सी.एन.डब्लु.डीको आर्थिक सहयोगमा सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडाहरू समेटेर गरिएको लक्षित राहत कार्यक्रम आज शुक्रवार सम्पन्न भएको हो ।

विशेष गरी गर्भवती सुत्केरी, अपाङ्गता भएका, दीर्घ रोगी, एकल महिला र अति असहाय परिवारलाई समेटेर राहत प्रदान गरेको ‘जिज्ञासु फाउन्डेसन’ का अध्यक्ष धर्मेन्द्र केसीले बताएका छन् । संस्थाले सुन्दरहरैचाको वडा नं १, २, १०, ११ र १२ लाई समेटेर जम्मा २४ परिवारलाई राहत वितरण गरेको छ । जसमध्ये ८ सुत्केरी, ७ अपाङ्ग, ३ दिर्घरोगी र ६ जना अति विपन्न तथा असहाय परिवार रहेको केसीले जनाएका छन् । केसीका अनुसार वाड कार्यालयसँगको समन्वयमा उक्त राहत सामग्री प्रदान गरिएको हो।

नेपालमा रहने वृद्ध, सीमान्तकृत र पहुँच नभएका समुदायको जीवनस्तर उकासेर सामाजिक परिवर्तनमा सहयोग गर्ने सी.एन.डब्लु.डीको मुख्य उद्देश्य रहेको छ । डेनमार्क बस्ने केही नेपालीहरूले नेपालका असहाय तथा दुखी परिवारहरूको सहायता गर्ने उद्देश्यले स्थापना भएको सी.एन.डब्लु.डीले डेनमार्कमा रहने नेपाली महिलाहरूको सशक्तीकरण र अधिकारलाई समेत प्रवर्द्धन गर्दै आएको केसीले जनाएका छन् ।

आज सुन्दरहरैचा २ का ४ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । खाद्य सामाग्री प्राप्त गर्ने बद्री माझी, मौरीदेवी माझी लगायत सबैले धन्यवाद प्रदान गरेका छन् । आर्थिक अभावको लडाइमा केही राहत सामाग्री पाउँदा खुसीले मौरीदेवी दुवै संस्थालाई धन्यवाद व्यक्त गर्छिन् । आर्थिक अभावमानै कान्छा छोराको उपचार गर्न नसक्दाको पिडा पनि मौरीदेवीलाई उस्तै छ ।

२२ वर्षको कान्छा छोरा हिँड्न बोल्न नसक्दाको पिडा हाँसोलेनै टार्न मौरीदेवी बाध्य छिन। वाड कार्यालयबाट पनि राहत पाएका माझी परिवारलाई पुन सी.एन.डब्लु.डी र जिज्ञासु फाउन्डेसनले गरेको ४० केजी चामल, १ केजी, दाल, नुन, तेल र नुहाउने साबुन प्रदान गर्दा केही दिनको लागि भए पनि राहत भएको छ । राहत सामाग्री सशस्त्र प्रहरी नायब निरीक्षक सुवास गिरीले हस्तान्तरण गरेका थिए ।

सुन्दरहरैंचा १० निवासी हाल वैदेशिक रोजगारमा डेनमार्क पुगेकी, सी.एन.डब्लु.डीकी महासचिव शर्मिला गिरी पाण्डेले फोन मार्फत कुरा गर्दै बाँकी वडाहरुलाई पनि समेट्दै आगामी दिनमा कार्यक्रम गर्ने जनाएकी छन । सी.एन.डब्लु.डीसँगको संयुक्त आयोजनामा गरिएको पहिलो चरणको लक्षित राहत कार्यक्रम सम्पन्न भएका पनि विपन्न सुत्केरी, अपाङ्गता भएका र एकल महिला लक्षित राहत उपहार कार्यक्रम भने स्थानीय दाताहरूको सहयोगमा जिज्ञासु फाउन्डेसनले सञ्चालन गरिरहेको अध्यक्ष धर्मेन्द्र केसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्