महन्थ ठाकुर र उपेन्द्र यादव राजपाको केन्द्रीय अध्यक्ष : डा. भट्टराई चौथो बरियातामा


काठमाडौँ, २५ जेठ / समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार साँझ पार्टीका शीर्ष नेताहरू डा.  बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरू आयोग कार्यालय पुगेर दल दर्ताका लागि कागजात बुझाएका हुन् ।

महन्थ ठाकुर र उपेन्द्र यादवलाई केन्द्रीय अध्यक्षमा राखेर पार्टी दर्ता गरिएको छ । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ । यसअघि आइतबार नै जसपाका शीर्ष नेताहरूको कार्यविभाजन भएको दाबी गरिएको थियो । जसमा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो रहने भनिएको थियो । तर, आयोगमा बुझाएको औपचारिक कागजमा भने डा. भट्टराई चौथो बरियातामा राखिएको छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबिच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । त्यसको भोलिपल्ट ११ वैशाखमा दुवै पार्टीका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र शरतसिंह भण्डारी निर्वाचन आयोग पुगेर एकताबारे लिखित जानकारी दिएका थिए । कागजातको आवश्यक छानबिन गरेपछि आयोगलाई जसपालाई औपचारिक मान्यता दिनेछ ।

राजपा र समाजवादीबिच एकीकरणको सहमति भएको डेढ महिनापछि दुई दलका नेताबिच आज बालकुमारीस्थित पार्टी कार्यालयमा पदीय भागबन्डाको टुङ्गो लागेको हो । जसपाको केन्द्रीय समितिमा हाललाई ५१ जना रहेका छन् । राजपाबाट २६ र सपाबाट २५ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्