मोरङको कानेपोखरीमा एमसीसी विरुद्ध प्रदर्शन


मोरङ, २२ जेठ । मोरङको कानेपोखरी गाउँपालिकामा स्थापित राष्ट्रिय युवा जागरण मञ्चले आज मिलेनियम च्यालेञ्ज कम्प्याक्ट(MCC)को विरोध जनाएको छ ।

मञ्चका अध्यक्ष प्रकाश धिमालको नेतृत्वमा निस्केको टोलीले “एमसीसी-खारेज गर” लगायतको नारा लगाएका थिए । अमेरिकाले नेपालमा पूर्व पश्चिम विधुत प्रसारण लाइन बिस्तारको लागि एमसीसी प्रोजेक्ट भित्र्याउने र आयोजनाको सुरक्षाको नाममा आफ्नो सेना ल्याउन खोजिरहेको भन्दै पक्ष विपक्षमा बहस चलिरहेको छ ।

राष्ट्रिय युवा जागरण मञ्चले आज (जेठ २२) अपराह्न १२ बजे गाउँपालिकाको गेट नजिकै एमसीसी विरुद्ध प्रदर्शनसहित विरोध जनाएका हुन । प्रदर्शनपछि भएको कोणसभामा नेकपा कानेपोखरी गाउँपालिका सचिवसमेत रहेका मनोज राजवंशी, मञ्चका अध्यक्ष प्रकाश धिमाल, एकराज फुयाँल, मिलन अधिकारी र सन्तोष फुयाँले बोलेका थिए ।

वक्ताहरूले अमेरिकाको योजनामा ल्याइन लागेको एमसीसी खारेज हुनुपर्ने र निर्वाचन भएमा स्वास्थ्य मन्त्री समेत रहेका मोरङ ३ नम्बर क्षेत्रबाट जितेका सांसद भानुभक्त ढकाललाई विपक्षमा मतदान गर्नु अनुरोध गरेका छन् । कानेपोखरी ढकालले निर्वाचन जितेको क्षेत्रमा पर्दछ । कार्यक्रममा करिब सयजनाको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्