काठमाडौँ, २१ जेठ । लामो समयदेखि जारी लकडाउनलाई सहज बनाउनेबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग छलफल गर्ने भएका छन् ।
लकडाउनको मोडालिटी परिवर्तन गर्दै न्यून जोखिमका ठाउँहरूमा व्यापार, व्यवसाय खुलाउनेबारे छलफल र परामर्श लिन विज्ञहरूलाई बोलाएका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधवार) अपराह्न हुने छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद्, योजनाविद्, नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ ।
मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान् कोइरालाले स्वास्थ्य क्षेत्रका विज्ञहरूको संयोजन गरेका छन् भने योजना आयोगका पूर्व उपाध्यक्षहरूसहितका विज्ञलाई पनि बालुवाटारमा बोलाइएको छ ।
कोभिड १९ रोकथाम,नियन्त्रणका उपायका बारेमा छलफल गर्न र लकडाउनको बारेमा सरकारलाई निर्णयका लागि सुझाव दिन विज्ञहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमण देखिएपछि जारी गरिएको लकडाउन आज ७२ दिन पुगिसकेको छ । लामो लकडाउनका कारण नागरिकको जीवन असहज बन्दै गएको छ । लकडाउनका कारण व्यापार, व्यवसाय, रोजगारी, कलकारखाना मात्र नभई कृषि कर्म समेत प्रभावित बन्दै गएको छ । मानिसको आर्थिक क्रियाकलाप ठप्प भएपछि जीवनयापनमै समस्या भएको छ ।
लामो समयदेखि जारी लकडाउनले नागरिकको जनजीवन असहज बन्न थालेको भन्दै लकडाउन उल्लंघनको क्रम बढ्न थालेको र विरोधका आवाजहरू समेत सुनिन थालेपछि प्रधानमन्त्री ओलीले लकडाउनको मोडल परिवर्तनका विषयमा छलफल गर्न विज्ञहरूसँग छलफल थालेका हुन् ।