मोरङमा रोकिएन मापदण्ड विपरीत खोला उत्खनन कार्य


सुन्दरहरैचा, २० जेठ । प्रदेश १ को संसद्मा पटक पटक रोक्न आवाज उठेता पनि प्राकृतिक स्रोतसाधनको मापदण्ड विपरीत उत्खनन कार्य रोकिएको छैन । कोरोना भाइरस महामारीका कारण देश बन्दाबन्दीमा रहेको मौकामा मोरङको तेली खोला, लोहन्द्रा, बक्रा खोला लगायतमा मापदण्ड विपरीत खोला उत्खनन भइरहेको छ ।

स्थानीयको जनगुनासो आएसँगै मोरङ जिल्ला समन्वय समिति उपप्रमुख प्रकाश साहको नेतृत्व भएको अनुगमनबाट मापदण्ड विपरीत उत्खनन कार्य भइरहेको पाइएको हो । बन्दाबन्दीको मौका छोपी ठेकेदारले मनोमानी रूपमा खोलाको ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न थालेपछि जिल्ला समन्वय समिति मोरङले अनुगमन गरेका छन् ।

अनुगमन टोलीले केराबारीको खदम खोला, बालुवा खोला, लेटाङको जाते स्थित तेली खोला, उर्लाबारीमा बक्रा खोला र बेलबारीमा लोहन्द्रा खोला लगायतका खोलामा मापदण्ड विपरीत उत्खनन गरेको पाइएको छ । अनुगमन टोलीले लेटाङ नगरपालिका, जातेको तेली खोला पुग्दा स्काभेटर प्रयोग गरी मापदण्ड विपरीत उत्खनन गरेर टिपरबाट खोलाजन्य सामाग्री ओसारपसार भएको जिल्ला समन्वय समिति उपप्रमुख प्रदीप साहले बताएका छन् ।

विकासको नाममा स्काभेटर तथा टिपरको प्रयोग गरी खोला जन्य सामाग्री उत्खनन तथा ओसारपसारमा केही स्थानमा रोके पनि केही स्थानमा मापदण्ड विपरीतको उत्खनन कार्य रोकिएको देखिएन । लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाका अनुसार चिसांङ्ग खोलाको मापदण्ड १ मिटर हो भने तेली खोलाको १ दशमलव ६ मिटर हो तर यहाँ सो भन्दा अत्यधिक बढी उत्खनन भएको देख्न सकिन्छ ।

खोलाभित्रै क्रसर उद्योग खोल्ने, नवक्षेत्रबाट ढुङ्गगिट्टी निकाल्ने, एकैठाउँमा कोट्याइरहने जस्ता मनपरी गर्ने कार्यले छेउछाउको बस्ती पनि जोखिमपूर्ण देखिन्छ । कतिपय खोलाहरू एकोहोरिएका छन् । मोरङका खोलानालामा असीमित ढुंगागिट्टी निकालिने गरेको छ । यसमा स्काभेटर र लोडरको भरपुर उपयोग गरिएको छ ।

उर्लाबारी १ स्थित पूर्व चारघरे र पश्चिममा चिसापानी बिच बक्रा खोला छ । बर्खायाममा बस्ती जोखिममा पुग्छ । खोलामा लोडर, स्काभेटर प्रयोग गरेर उत्खनन कार्य भइरहेको छ । उत्तरी मोरङमा मापदण्ड विपरीत खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा मोरङका खोलानालाको स्वरूप बिग्रन थालेको छ ।

जिल्ला समन्वय समिति मोरङसँग गरेको सम्झौता विपरीत ठेकेदार र स्थानीय क्रसर उद्योगीहरूले मनोमानी रूपमा एक्साभेटर प्रयोग गरी ढुङ्गागिट्टी झिक्ने क्रम नरोकिँदा खोलानालाको स्वरूपमा परिवर्तन आएको हो । त्यसै बेलबारी नगरपालिकाको कसेनीदेखि २ किलोमिटर दक्षिण ग्रामथान गाउँपालिकासँग जोडिएको लोहन्द्रा खोलामा अनुगमन टोली पुग्दा पोखरी झैँ गहिरो खनेर स्काभेटरको प्रयोग गरी मापदण्ड विपरीत उत्खनन भएको पाइएको छ ।

क्रसर उद्योगबाट करिब ५ सय मिटर आसपासको क्षेत्रमा खोलाको सतहबाट दुई फिट गहिराइसम्म ढुङ्गा गिट्टी उत्खनन गर्न पाइने भए पनि कतिपय स्थानमा सात फिट गहिराइसम्म उत्खनन गरिएको छ । क्रसर उद्योगहरूले प्रायः जसो धेरै स्थानमा एक्साभेटरको प्रयोग गरी ढुङ्गा, गिट्टी र बालुवा निकाल्दै आएका छन् ।

क्रसर उद्योगहरूले कतिपय वन क्षेत्रमा पनि जथाभाबी उत्खनन गरेको अनुगमनमा पाइएको छ । यसमा स्थानीय तह देखि लिएर सङ्घीय सरकारले मापदण्ड विपरीत उत्खनन गरेको कार्य समयमै रोक्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्