बेलबारीमा एक युवकले आमाको हत्या गरी आफै आत्महत्या गरे


बेलबारी, १५ जेठ । मोरङको बेलबारीमा एक युवकले निर्ममता पूर्वक आमाको हत्या गरी आफै आत्महत्या गरेका छन् । बेलबारी वाड नं. ४ स्थित बुधबारेका ३१ वर्षीय जीवन लिम्बुले आमा देवीमाया लिम्बुको हत्या गरी आफै आत्महत्या गरेका हुन ।

जीवनले बिहिबार घरैमा, आमा देवीमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जनाएका छन् । इट्टाको प्रहारबाट देवीमायाको हत्या गरी आफैले छुरीले घाटी रेटेर आत्महत्या गरेको नायव उपरीक्षक राईले बताएका छन् ।

स्थानीयका अनुसार करिब बिहान १० : ३० बजे सो घटना घटेको हो । बेलबारी वाड नं. ४ स्थित बुधबारेमा आमा देवीमायाको हत्या गरी घरबाट उत्तर तर्फ १ किलो मिटर टाढा गएर आफै घाटी रेटी जीवनले आत्महत्या गरेको स्थानीयले बताए ।

बुधबार मध्य रात करिब १ बजे आमासँग जीवनको झगडा पर्दा घरानै आगो लगाउने कोसिस गरेको, उनको बहिनी सलिनाले बताएकी छन् । आमाको मृत्यु भएको खबर बिहान मात्र थाहा पाएको सलिनाले बताइन ।

स्थानीयका अनुसार जीवनलाई मानसिक बिरामी थियो । जीवनले आमा देवीमायाको टाउकोमा प्रहार गरेर हत्या गरेको स्थानीयले बताएका छन् । स्थानीय खड्क राईका अनुसार शुक्रवार जीवनले आमा देवीमायासँग झगडा गर्न थाले पछि धामीकोमा फुक्न लग्ने निधो गरेर उनलाई ट्याम्पु बोलाई दिन अनुरोध गरेका थिइन । ट्याम्पु बोलाएर आउँदा भने देवीमायाको टाउकोमा इट्टाले प्रहार गरेर हत्या गरेको अवस्थामा भेटेको राईले बताए ।

स्थानीयका अनुसार आमाको हत्या गरे पछि जीवनले खड्ग बहादुर खड्काको घरमा पुगेर घाटी रेटेर आत्महत्या गरेका थिए । घर भित्र बसेका खड्का बाहिर हल्ला भए पछि निस्कँदा किचेनमा घाटी रेटी रहेको अवस्थामा जीवनलाई भेटेको उनले बताए । उनले भने, ‘जीवन घाटी रेट्दै किचनबाट बाहिर निस्किएर आँगनमा लडे ।’

नाम नखुलाउने र अनुहार नदेखाउने तर अडियो भने सार्वजनिक गर्ने सर्तमा घटनाको मुख्य प्रत्यक्षदर्शी खड्काका छिमेकीका अनुसार जीवनले घाटी रेट्न पहिला कचियाको प्रयोग गरेका थिए भने पछि छुरी प्रयोग गरेका थिए । खड्काको घरको किचेनमा गएर छुरी निकालेर जीवनले आफै घाटी रेटेको उनले बताए ।
प्रहरीलाई खबर गरेको करिब ३० मिनेट पछि आउँदा घाटीको भित्री भाग आफै तानेर युवकले निकाली सकेको र गम्भीर अवस्थामा पुगेको बेला मात्र प्रहरी घटना स्थल पुगेको उनले बताए ।

उनले भने, ‘घाटी रेट्दा हतियार खोसाउन खोज्दा पनि उल्टै जीवनले प्रहार गर्न खोज्यो । जीवनले घाटी रेटेर आफ्नो घाटीको भित्री भाग आफै तानेर निकाल्यो । यस्तो कहाली लाग्दो दृश्य मेरो जीवनमा पहिलो पटक देखेको हो ।’

खबर पाएर घटना स्थल पुगेका प्रहरीले बेलबारी वाड नं. ३ स्थित नोबेल सामुदायिक अस्पतालमा उपचारको लागि लगेका थिए । तर जीवनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । आमा छोराको शव उर्लाबारी स्थित मङ्गलवारे अस्पताल पोस्टमार्टमको लागि पठाइ, देवीमायाकी छोरीलाई बुझाइ सकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्