अर्का एक जनाको शव भेटियो : रुकुम घटना


जाजरकोट, १४ जेठ । रुकुम घटनामा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ अधेरेस्थित भेरी नदीमै भेरी नगरपालिका–११, जाजरकोटका १८ वर्षीय लोकेन्द्र सुनारको शव भेटिएको छ । सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको हो ।

बेपत्ता रहेका लोकेन्द्रको शव भेटिएको प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले पुष्टि गरेका छन् । मृतकका परिवार र आफन्तले लोकेन्द्रको शव फेला पारेको उनले जानकारी दिए ।

यससँगै रुकुम पश्चिमको यो घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या चार पुगेको छ । यसअघि भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको थियो ।

भेरी नगरपालिका–११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । उनीहरूको खोजीका लागि प्रहरीले गोताखोरको टोली परिचालन गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विककी प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयले आक्रमण गरेका थिए । ज्यान जोगाउन नवराजसहितका केही युवाहरू भेरी नदीमा हामफालेका थिए ।

घटनामा संलग्न भएको भन्दै मृतकका परिवारले २० जनाविरुद्ध किटानी जाहेरी समेत दिएका छन् । रुकुमपश्चिम प्रहरीले १२ जनालाई पक्रेको छ भने आठ जनाको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्