सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक सार्वजनिक गरे


काठमाडौँ, ७ जेठ । सरकारले आज (बुधवार) नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधवार दिउँसो भारतले अतिक्रमण गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भू–भागको क्षेत्रफल ३३५ वर्ग किलोमिटर छ । अतिक्रमित भूभाग बाहेकको नेपालको क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक काम कारबाही समेत अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोवर जाने बाटाको ट्रयाक खोलेपछि नेपाल जवाफ दिन बाध्य भएको हो ।

मङ्गलवार सङ्घीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्