बम विस्फोटमा ज्यान गुमाएका चार बालबालिकाको शव जहाँको त्यही


रोल्पा, १९ वैशाख । बिहीबार साँझ रोल्पामा युद्धकालीन बम विष्फोट हुँदा ज्यान गुमाएका चार बालिकाको शव घटना स्थलमा नै रहेको छ । १८ घण्टा बितिसक्दा समेत शव उठ्न सकेको छैन ।

बम विफोट भएर ज्यान गुमाएका बालबालिकाकै छेउमा अर्को विष्फोट नभएको बम भेटिएको र त्यो सुरक्षित रूपमा डिस्पोज नगरी मृतक बालबालिकाको शव उठाउन समस्या भएको रोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) चित्रबहादुर गुरुङले जानकारी दिएका छन् । प्रहरीले घटनास्थल सिल गरिसकेको छ ।

हिजो (बिहीबार) बाख्रा चराउन गएका एकै घरका दुई जनासहित चार बालबालिकाको कम विस्फोटमा परी ज्याज गएको हो । बम विस्फोटमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री, छिमेकी १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको ज्यान गएको थियो ।

उनीहरू दिनभर बाख्रा चराएर घर फर्कँदै थिए । फर्कँदै गर्दा उनीहरूले बाटोमा बम भेटे । तर, अबोध बालबालिकाले त्यसलाई खनौला ठाने । एक्कासि विष्फोट भयो । विस्फोटको आवाज यति ठुलो थियो, टाढासम्म स्थानीयले सुने ।

त्रसित स्थानीयहरू कहाँ के भयो भन्दै खोज्दै जाँदा गहुँवारिमा चार जना बालबालिका मृत फेला पारेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिएका छन् । जनप्रतिनिधि र प्रहरी पुग्दा नजिकै अर्को बम पनि फेला भेटिएपछि तत्काल शव उठाउन समस्या परेको हो ।

घटनास्थल नजिकै अर्को बम पनि फेला परेपछि मृतक बालबालिकाको शव अहिलेसम्म घटनास्थलमै छ । विष्फोट नभएको बम डिस्पोज गर्नका लागि नेपाली सेना राति नै घटनास्थल पुगेको छ । तर अझै डिस्पोज नभएका कारण शव उठाउन नसकिएको रोल्पाका प्रहरी नायव उपरीक्षक गुरुङले बताएका छन् ।

माओवादी सशस्त्र युद्धका क्रममा घटना भएको रोल्पाको दुम्ला जङ्गलमा भिडन्त समेत भएको थियो । त्यही समयको बेवारिसे अवस्थामा फेला परेको बम गोठाला गएका अबोध बालबालिकाले खेलाउने क्रममा विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । ठुलो आवाजसहित विष्फोट भएको उक्त बम ‘टु ईन्च मोटर’ को रहेको प्रहरीको भनाइ छ । यति बेला सिङ्गो गाउँ शोकमा डुबेको छ । डिएसपी चित्रबहादुर गुरुङले सेनाले अर्को बम डिस्पोज गरेपछि शव उठाउने बताएका छन् ।

मृतक बालबालिकाका परिवारलाई राहत दिन सङ्घीय सरकारलाई सिफारिस

प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले सङ्घीय सरकारलाई सिफारिस गर्ने पनि बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरेका छन् ।

यसैबिच बम विस्फोटको घटनाबारे जानकारी लिन र मृतक बालबालिकाका परिवारलाई समवेदना दिन प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी घटनास्थल गएका छन

प्रतिक्रिया दिनुहोस्