धरौटीमा रिहा भए लगतै फेरि पक्राउ परे सुलभ अग्रवाल


काठमाडौँ, १८ वैशाख । सुलभ अग्रवाल फेरि पक्राउ परेका छन् । उनी स्वास्थ्य सामग्रीमा कालोबजारीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगतै फेरी पक्राउ परेका हुन ।

व्यवसायी अग्रवाल अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा भए लगतै उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ । परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवाल विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर रिहा हुने बित्तिकै उनी फेरि पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्