काठमाडौँ, १० वैशाख / राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादीबिच पार्टी एकताको सहमति भएको छ । बुधवार मध्यरात दुई पार्टी एकता गर्ने निर्णय भएको हो ।
दुई पार्टीका प्रतिनिधि बिच बसेको संयुक्त बैठकबाट ४ बुँदे सहमतिको आधारमा एकताको निर्णय गरेको छ । पहिलो समानताको आधारमा पार्टी एकीकरण गरिने निर्णय भएको छ भने एकीकृत नयाँ पार्टीको नाम “जनता समाजवादी पार्टी, नेपाल” हुने सहमति भएको छ ।
एकीकृत पार्टीको झन्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङ्गको बिचमा तारा हुने दुई पार्टीबिच तेस्रो सहमति भएको छ । चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता नै हुने चौथो सहमति भएको छ ।
सार्वजनिक भएको एकता सहमति पत्रमा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सरकारले राजनीतिक दल सम्बन्धी ऐन अध्यादेश संशोधन गरेसँगै समाजवादी विभाजन हुने निश्चित देखिएको अवस्थामा दुई पार्टीबिच एकीकरणको सहमति भएको हो । दुवै दलसँग सङ्घीय संसद्मा १७ / १७ जना सांसद रहेका छन् ।