रुखमा झुन्डिएको अवस्थामा बेलबारीमा एक शव भेटियो


बेलबारी, ९ वैशाख / मोरङ बेलवारी नगरपालिका वडा नं. १० स्थित लक्ष्मी सामुदायिक वन क्षेत्रमा रुखमा झुन्डिएको अवस्थामा मङ्गलवार बिहान एक पुरुषको शव फेला परेको छ । उक्त शव कानेपोखरी १ होक्लाबारीका धनराज बुढाथोकीको भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घाँस दाउरा लिन जङ्गल जानेले पिठारीको रुखमा झुण्डीको अवस्थामा देखेका थिए । शव देखे पछि स्थानीयले इलाका प्रहरी कार्यालय बेलबारीलाई खबर गरेका थिए । घटना स्थलमा पुगेका प्रहरीले शवको शरीरमा लाइसेन्स भेटेका छन् । सोही लाइसेन्सको आधारमा बुढाथोकी हो भन्ने पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जनाएका छन् ।

प्रवक्ता नायव उपरीक्षक राईका अनुसार ६३ वर्षका धनराज बुढाथोकी एक महिना देखी लापता थिए । एक महिना अगाडी हराएको बुढाथोकीको शव मङ्गलवार रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो । शव परिवारलाई बुझाएर पोस्टमार्टमको लागि उर्लाबारीको मङ्गलवारे अस्पताल पठाइएको प्रवक्ता नायव उपरीक्षक राईले जनाएका छन् । बुढाथोकीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परे पनि आत्महत्या हो वा हत्या भने थप अनुसन्धान र पोस्टमार्टमबाट मात्र थाहा हुने प्रवक्ता नायव उपरीक्षक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्