कुहिएको राहत सामाग्री वितरण गरेको आरोपमा कलैयाका मेयरसहित १० जना पक्राउ


रौतहट, ९ वैशाख । कुहिएको राहत सामाग्री वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयरसहित १० जना पक्राउ परेका छन् । कोरोना भाइरस कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै सरकारले लागुगरेको लकडाउनबाट उत्पन्न भएको खाद्यान्नको अभावमा विपन्न र असहायलाई प्रदान गरिने खाद्य सामाग्रीमा चार वर्ष पुरानो चामल र दाल वितरण गरेको भेटिएपछि उनीहरू पक्राउ परेका हुन ।

प्रहरीले मेयर यादवलाई मङ्गलवार बिहान पक्राउ गरेको हो । यसअघि नै प्रहरीले पाँच वडाध्यक्ष, तीन जना कर्मचारी र एक जना दाल आपूर्ति गर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ । कुहिएको दाल यादवले कलैया नगरपालिका–७ स्थित ‘यादव कोल्ड स्टोर’ मा भण्डारण गरेको पाइएपछि चैत २९ गते प्रशासनले सिलबन्दी गरेको थियो । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो ।

उपमहानगरपालिकाले राहतका नाममा वितरण गरेको कुहिएको दाल–चामल सर्वसाधारण अस्वीकार गरेका थिए । कुहिएका खाद्य सामग्री राहत स्वरूप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । जसमा मेयर यादव दोषी पाइएपछि नियन्त्रणमा लिइएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

कलैया मनपा–२० बस्तपुरमा वितरण गर्नका लागि राखेको दाल चार वर्ष पुरानो कुहिएको रहेको जानकारी स्थानीयहरूले दिएपछि बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघि सुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो । उक्त दाल यादव कोल्ड स्टोरबाट ल्याएको सूचना प्राप्त भएपछि छापा मार्दा ३८० बोरा दाल बरामद गर्दै कोल्डस्टोर सिलबन्दी गरिएको थियो ।

सङ्कटको घडीमा सहयोग गर्नुको साटो जिम्मेवार नगर प्रमुखले आफ्नै स्टोरमा थन्किएको र सडेको खाद्यान्न राहतको नाममा गरिब र असहायलाई वितरण गरी उनीहरूको स्वास्थ्यमै खलवाड गरिएको भन्दै स्थानीय आक्रोश बनेका थिए ।

मेयर यादवबिरुद्ध खाद्य ऐन अन्तर्गत मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले तयारी गरेको छ । मेयर यादव पूर्व सांसद राधेचन्द्र यादवका छोरा हुन् । मेयर यादवले कुहिएको दाल–चमल वितरण गरिएकोमा गल्ती महसुस गर्नुको सट्टा ‘अहिले गरिबहरू पनि राम्रो चामल खाने भइसके’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्