भारतद्वारा मेची नाका अनिश्चितकालका लागि बन्द


काठमाडौँ, ४ वैशाख । नेपालसँग सीमा जोडिने भारतको पश्चिम बंगालको मेची नाका शिल भएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले नाका सिल भएको जानकारी दिएका छन् । बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चितकालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी आफूले पाएको भन्सार प्रमुख विश्वकर्माले बताएका छन् ।

पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने जानकारी दिएको विश्वकर्माले बताएका छन् । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताएका छन् ।

नेपालमा लकडाउन भइरहेका बेला पनि सो नाकाबाट ग्याँस बुलेट, तरकारी, फलफूललगायतका वस्तु नेपाल भित्रिइरहेका थिए । तर, एकाएक भारतले सीमा नाका बन्द गर्दा नेपालमा उपभोग्य सामान भित्र्याउन कठिनाइ हुने अवस्था सिर्जना हुने विश्वकर्मा बताउँछन् ।

यता केन्द्र सरकारको नीति विरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कूटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका बन्दबारे पत्राचार गरिएको जनाइएको छ । दिल्ली स्थित नेपाली दूतावासबाट समेत पहल थालिएको जानकारी आफूलाई आएको मेची भन्सार प्रमुख ध्रुव विश्वकर्मा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्