नेपालमा वैशाख १५ गतेसम्म लकडाउन लम्बियो


काठमाडौँ, २ वैशाख / मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित सङ्ख्या बढेसँगै रोकथामको लागि सरकारले लकडाउन लम्बाइएको हो ।

मन्त्रिपरिषद् बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ । नेपालमा हालसम्म १६ जनामा सङ्क्रमण देखिएको छ । मङ्गलवार मात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चैत ११ गते पहिलो पटक लकडाउन घोषणा गरेको सरकारले तेस्रो पटक अवधि थप गरेको हो। दोस्रो पटक वैशाख ३ गतेसम्म लाई लकडाउन घोषणा गरेको थियो। सुरुमा एक हप्ताका लागु घोषणा गरिएको लकडाउन सरकारले दुई पटक एक–एक हप्ताका लागि थपिसकेको थियो। यसपालि एकै पटक दुई हप्ताका लागि थप गरेको छ।

छिमेकी भारतले पनि आजै लकडाउनको समयावधि लम्ब्याएको छ। देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिका (२१ वैशाख) सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन्। यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्