स्वाइनफ्लु भन्दा कोरोना १० गुणा खतरनाक : भ्याक्सिनले मात्र संक्रमण रोकिने डब्लुएचओको दाबी


काठमाडौँ, २ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारी प्रभावकारी भ्याक्सिनले मात्र रोकिने स्पष्ट पारेको छन् ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएका हुन । उनले भने, ‘हामीलाई थाहा छ कोभिड–१९ तीव्र रूपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान सहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झन्डै २० लाख मानिस संक्रमित छन् भने एक लाख बढीको ज्यान गइसकेको छ ।

तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन । डब्ल्युएचओले कोरोना भाइरस विरुद्धको खोप तयार गर्नका लागि विभिन्न देशका वैज्ञानिक जुटिरहेको भए पनि यसको नतिजा आउन समय लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्