लकडाउन खोल्न नहतारिन डब्ल्यूएचओको चेतावनी


काठमाडौँ, २९ चैत । लकडाउन खुकुलो पार्ने तथा खोल्न देशलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नखोल्न हतारिन चेतावनी दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट न्यूनीकरण गर्न सफल भएका देशहरूले लकडाउनलगायत प्रतिबन्ध हटाउन र खुकुलो पार्न थालेपछि डब्ल्यूएचआले चेतावनी दिएको हो ।

विश्वमा कोरोना महामारी झन् घातक बन्दै गएकोले डब्ल्यूएचआले लकडाउन खोल्न नहतारिन बताउँदै रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध तथा उपाय अहिले नै अन्त्य गर्दा कोरोना सङ्क्रमण पुनरावृत्ति हुन सक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठनले दिएको हो ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धका कारण आर्थिक समस्या वा सङ्कट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले त्यो फुकुवाका लागि हतारो नगर्न सुझाव दिएका छन् ।

‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा सङ्क्रमण पहिलेभन्दा घातक बनेर पुनः फैलिने जोखिम हुन्छ । यदि राम्रोसँग व्यवस्थापन गरिएन भने घट्दो क्रमको सङ्क्रमण झन् जोखिमपूर्ण हुन्छ,’ उनले भनेका छन् ।

सङ्क्रमण कम हुँदै गएको चीनले लकडाउन खोल्ने तथा प्रतिबन्ध केही खुकुलो बनाउने गरिरहेको छ । यस्तै कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित देशको सूचीमा पर्ने इटाली र स्पेनले पनि केही प्रतिबन्ध खुकुलो पारेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्