अमेरिका, २९ चैत । अमेरिकामा एकै दिनमा दुई हजार १०८ जनाको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गएको छ । शुक्रवार एकै दिन (२४ घण्टाभित्र) दुई हजार १०८ जनाले ज्यान गुमाएको त्यहाँस्थित जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
कोरोनाबाट एकै दिनमा १०८ जनाको मृत्यु हुनु विश्वमै अहिलेसम्मकै बढी मानिसको ज्यान गएको छ । अहिलेसम्म विश्वमा सबैभन्दा बढी मृत्यु हुने देश इटली हो, जहाँ यो खबर लेख्दासम्म कोरोनाबाट १८ हजार ८४९ जनाको मृत्यु भएको छ भने अमेरिकामा १८ हजार ७६९ जनाको ज्यान गएको छ ।
तर, अमेरिकामा जुन गतिमा कोरोनाबाट सङ्क्रमण र मृत्यु भइरहेको छ, त्यस हिसाबले कोरोनाबाट सबैभन्दा बढी मानव क्षति बेहोर्ने देश पनि अमेरिका नै बन्ने आशंका बढेर गएको छ ।
संक्रमितको सङ्ख्या संसारमै सबैभन्दा बढी अमेरिकामा पाँच लाख २८ हजार ८७६ पुगेको छ । यसपछि विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित इटलीमा देखिएका छन् । त्यहाँ अहिलेसम्म एक लाख ४७ हजार ५ सय ७७ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।