भारतमा कोरोनाबाट २४ घण्टामा ४० जनाको मृत्यु


नयाँदिल्ली, २९ चैत । भारतमा २४ घण्टा यता ४० जनाको ज्यान गएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको २४ घण्टा यता ४० जनाको मृत्यु हुनेको सङ्ख्या अहिले सम्मकै धेरै पाइएको छ ।

भारतमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या २३९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । महाराष्ट्रमा मात्र ११० जनाको ज्यान गएको बताइएको छ ।

गएको २४ घण्टायता नै १ हजार ३५ जना नयाँ सङ्क्रमित थपिएको छ भने शनिवार बिहानको तथ्याङ्कअनुसार भारतमा ‘कोभिड १९’ का सङ्क्रमितहरूको सङ्ख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिवार बिहानसम्म ७ हजार ४४७ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । भारतमा सुरुदेखि नै सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रवार जस्तै शनिवार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरू दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरूको सङ्ख्या एक हजार ५७४ जना पुगेको शनिवार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

महाराष्ट्रमा १८८ जना उपचारपछि घर फर्किएका छन् । यसरी भारतका अरू राज्यहरूको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।

यसरी भारतमा केही दिनयता बढ्दो रूपमा यसका सङ्क्रमितहरू देखिएका पनि बताइएको छ । यहाँका ६३४ जना सङ्क्रमित भने उपचार पछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ६ हजार ५६५ जना कोरोनाका सङ्क्रमित बिरामी अस्पतालमा छन् । भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २३९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी बिरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या शनिवार बिहानसम्म ९११ पुगेको छ । यीमध्ये २५ जना उपचारपछि घर फर्किएका छन् । यस राज्यमामात्र गएको २४ घण्टायता १३ जनाको ज्यान गएको छ ।

त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको सङ्ख्या ९३० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ सङ्क्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । त्यसै गरी राजस्थान, तलंगना र छत्तीसगढमा कोरोनाका सङ्क्रमितहरू भेटिएका छन् । गएको २४ घण्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै सङ्क्रमित भेटिएका हुन् ।

(रासस–एएनआई)

प्रतिक्रिया दिनुहोस्