पथरी शनिश्चरेलाई डा.शर्माको कोरोना रोकथाम कोषमा रु.१ लाख ११ हजार सहयोग


विराटनगर, २६ चैत्र । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी रकम प्रदान गरेका हुन् ।

विराटनगर स्थित आफ्नै निवासमा डा.शर्माले बुधवार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलीप कुमार राईलाई नगद हस्तान्तरण गरेका छन् । पथरी शनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला, स्वास्थ्य संयोजक मुरारी आचार्यसहितको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले रोकथाममा सहयोग पुर्याउँन रकम प्रदान गरेको डा.शर्माले बताए । ‘यो महामारीका बेला कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि हामीले अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराएर सक्दो भूमिका निर्वाह गरिरहेका छौ । नगरस्तरमा पनि सहयोग गरौँ भनेर रकम प्रदान गरेको हुँ ।’ डा.शर्माले भने ।

डा.शर्माले यसअघि पनि गरिब, विपन्न र उपचार नपाएका बिरामीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले त्यस्ता हजारौँ बिरामीलाई निःशुल्क उपचार गराएका छन् । कोरोना सङ्क्रमण रोकथामका लागि पनि डा.शर्माले भूमिका निर्वाह गर्दै आएका छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठुलो अस्पताल नोबेललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेर डा.शर्माले सरकारलाई लिखित पत्रसमेत पठाएका छन् ।

कोरोना सङ्क्रमण रोकथामकै लागि डा.शर्माले पूर्वी नेपालमै पहिलो पटक अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएका छन् । उनले कोरोनाको सम्भावित महामारीबाट बच्न सर्वदलीय संयन्त्र निर्माण गर्नुपर्ने र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने आवाज पनि उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्