सुन्दरहरैंचा नगरपालिकामा प्याब्सनद्वारा रु.५ लाख भन्दा बढीको राहत सामाग्री प्रदान


मणिराम दाहाल –

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नगर कार्य समितिले सुन्दरहरैँचा नगरपालिकाको व्यवस्थापन समितिमा राहत सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

सरकारले एक द्वार प्रणालीबाट राहत वितरणको निर्देशन दिएसँगै प्याब्सन सुन्दरहरैँचाले नगरपालिकाको कार्यालयमा पुगेर ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको थियो ।

प्याब्सन सुन्दरहरैँचाले सो रकम बराबरको २५ केजीको दरले ६ सय ३१ बोरा चामल नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल , उपप्रमुख धनमाया तामाङ मार्फत हस्तान्तरण गरेको प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष हरिश्चन्द्र ढकालले बताए । उनले मुलुक लकडाउनमा रहेको र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने अति गरिब मजदुर तथा विपन्न परिवारको घरमा दैनिक रूपमा चाहिने अति आवश्यक सामान सकिँदै गएको हुनाले सहयोग गर्ने सोचले राहत सामग्री प्रदान गरिएको जानकारी दिए ।

प्याब्सन सुन्दरहरैँचाले आफ्ना सदस्य २६ विद्यालयहरू सँग सहयोग रकम सङ्कलन गरी नगरपालिका साथै केन्द्रीय राहत कोषमा समेत सहयोग गरेको सचिव दीपक के.सी ले बताए । त्यसै गरी प्याब्सन सुन्दरहरैँचाले केन्द्रीय राहत कोष प्याब्सनमा जम्मा हुने गरी नगद ४४ हजार ४ सय ४५ समेत केन्द्रीय राहत कोषमा पठाएको प्याब्सनका उपाध्यक्ष दीपेन्द्र राईले जानकारी दिए ।

राहत हस्तान्तरण कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्की , प्रदेशका वरिष्ठ उपाध्यक्ष टीकाराम ढकाल , जिल्ला अध्यक्ष अर्जुन बस्नेत लगायत प्याब्सन नगरकार्य समितिका पदाधिकारीहरुकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्