कोरोना संक्रमित एक युवासँगै भारतबाट फर्किएका एक जना, जिल्ला अस्पताल सल्यान पुर्‍याइयो


सल्यान, २४ चैत। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएका २१ वर्षीय युवासँगै भारतको गौरिफन्टा नाकाबाट नेपाल आएका सल्यान जिल्ला बागचौर नगरपालिका १० का २१ वर्षीय एक युवालाई स्वास्थ्य जाँचको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

गौरीफन्टा नाकाबाट आएका व्यक्तिको सूचना पाएपछि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी र इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादे सहितको टिम खड्काको घर पुगेर खड्का, उनका ६६ वर्षीय बुबा र ६१ वर्षीय आमालाई गाडीमा राखेर जिल्ला अस्पतालमा पठाइएको बागचौर नगरपालिकाका सूचना अधिकारी तीर्थ राज डाँगीले सल्लेरी खबरलाई जानकारी दिएका छन् । ती व्यक्ति घरमा बुबा र आमासँग मात्रै बसेको पाइएको सूचना अधिकारी डाँगीले बताए ।

उनीहरूको स्वाब सङ्कलन गरेर कोरोना भाइरसको परीक्षणको लागि पठाइदिने बताइएको छ । गौरीफन्टा नाकाबाट आएका मध्य सल्यान जिल्लाका दुईजना रहेका थिए । अर्को एक जना शारदा नगरपालिका ८ का २१ वर्षीय युवा बर्दिया जिल्ला बडैयाताल गाउँपालिकाको वडा नम्बर ९ थेसनपुरमा रहेको शिबशक्ती आधारभूत विद्यालयको क्वारेन्टाइनमा छन् ।

यस अगाडि पनि सल्यानमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सल्यानका तीन जनाको नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो । जसमा बनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलाका दुई र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका एक जना रहेका थिए ।

नेपालमा लकडाउन भइसकेपछि चैत ११ गते गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै ९ सय ९९ जना नेपालीले नाकामा नाराजुलुस गरेका थिए । नेपाल सरकारले लकडाउनको समयमा पनि विशेष निर्णय गर्दै उनीहरूलाई नेपाल भित्र्याएको थियो । गौरीफन्टा नाकाबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिए सँगै अन्य व्यक्तिहरूको पनि सरकारले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्