कोरोना विरुद्ध लड्ने सर्वपक्षीय संयन्त्र बनाउन खाँचो छ : डा. शर्मा


विराटनगर, २४ चैत्र । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना भाइरसको सम्भावित महामारी विरुद्ध लड्नका लागि सर्वपक्षीय संयन्त्र बनाउन सुझाव दिएका छन् । विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोनाले नेपाललाई पनि धेरै प्रभावित पार्न सक्ने सङ्केत गर्दै उनले कोरोनाबाट मुलुकलाई जोगाउन सर्वपक्षीय संयन्त्र निर्माणको खाँचो औँल्याएका हुन् ।

सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गदै उनले सत्तारुढ दल, मुख्य तथा अन्य साना प्रतिपक्षी दल, निजी क्षेत्र, नागरिक समाज, जनस्वास्थ्य विज्ञहरू, सङ्कट व्यवस्थापन विज्ञ लगायतको प्रतिनिधित्व हुने गरी उच्च स्तरीय समिति बनाउन सुझाव दिएका हुन् । संकटका बेला सरकारले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएकाले सरकारले मुलुक भित्रका सबै शक्तिहरूलाई रिझाएर नीतिगत आधार तय गर्न राजनीतिक तहमा र कार्यकारी तहमा विज्ञ विशेषको अर्को समिति बनाउन उपयुक्त हुने उनको सुझाव छ । कोरोनाको लक्षण ढिलो देखिने वा लक्षण नदेखिँदै पनि सङ्क्रमण फैलनसक्ने हुनाले खतरनाक स्थिति सृजना हुँनसक्ने प्रति सचेत गराउँदै उनले दूरगामी असर पर्ने अवस्थाबाट जोगाउन सर्वपक्षीय समितिले प्रभावकारी भूमिका खेल्न सक्ने तर्क गरेका छन् ।

कोरोना विरुद्धको अभियानको अग्रपंतिमा स्वास्थ्यकर्मीहरु नै हुने भएकाले उनीहरूलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराई उच्च बनोबलका साथ काम गर्न प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । कोरोना विरुद्धको अभियान कुनै पार्टी विशेषको मात्र नभई सबैको भएकाले मुलुकभित्र भएका सवैपक्षलाई एक ढिक्का बनाएर यसको नेतृत्वदायी भूमिका निर्वाह गर्न डा.शर्माले सरकारलाई आग्रहसमेत गरेका छन् । महामारीसँग जुध्ने बेलामा स्वास्थ्य सामाग्री खरिदको विषय विवादरहित बन्न नसक्नु र आर्थिक अपचलनको प्रश्न उठ्नु दुखद भएको उल्लेख गर्दै उनले पारदर्शी रूपमा काम गर्न सरकारलाई सुझाव दिएका छन् । अहिले जटिल अवस्थामा मुलुक गुज्रिरहेकाले सरकारमा भएकाहरूले पनि विवादरहित र पारदर्शी काम गर्नुपर्ने उनको तर्क छ ।

काँग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले अहिले आरोप प्रत्यारोप गर्ने बेला नभएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर महामारी विरुद्ध सरकारको अभियानमा सघाउन काँग्रेससहित अन्य राजनीतिक दललाई पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्