बेलबारी नगरपालिकाले राहत वितरण गर्दै : राहतलाई प्रचारको सामग्री नबनाउन मेयरको निर्देशन


केशु विरही – बेलबारी, मोरङ / राहतका नाममा जनतालाई आहत पार्ने काम नगर्न बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् । बेलबारी नगरपालिकाले लकडाउनका कारणले हातमुख जोर्न समेत धौधौ परिरहेका जनतालाई राहत वितरण गर्ने क्रममा वाड वाडमा पुगेर वार्ड समितिलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन ।

नगरवासीलाई यस्तो विषम पिरस्थितमा अनुशासित भएर अगि बढ्न समेत मेयर सुवेदीले आग्रह गरेका छन् । वाड वाडमा पुगेर वाड समितिलाई राहत सामग्री हस्तान्तरण गर्दै उनले राहत पाउनु पर्ने कुनै पनि नगरवासीलाई नछुटाउन आग्रह समेत गरे ।

पछिल्लो समय राहतको नाममा जनतालाई आहत पार्ने काम भइरहेको छ । राहत भन्दा फेसबुकमा फोटा हाल्न लालायित व्यक्तिप्रति लक्षित गर्दै मेयर सुवेदीले राहत सामग्री वितरणलाई प्रचारबाजीको माध्यम नबनाउन सचेत समेत गराएका थिए ।

सरकारले लकडाउनलाई थप कढाइ गरिरहेको बेलामा राहत बाढ्दा भिडभाड नहोस् भनेर गाडीको रुट मिलाएर घरघरमा राहत पुर्‍याउने व्यवस्था गरिएको नगरप्रमुख सुवेदीले बताए ।

राहत वितरण बेलबारी नगरपालिकाको वार्ड नं ७ बाट सुरु गरिएको थियो । साथै आज नै २, ३, ६ १० र ११ वाडमा वितरण गरिएको छ भने बाँकी पाँचवटा वाडमा सोमबार वितरण गरिने नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले बताइन ।

राहत वितरणमा उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, नगरप्रवक्ता योगेन्द्र सुवेदी, इलाका प्रहरी कार्यालयका प्रमुख गुणराज बुढाथोकी, सशस्त्र प्रहरी बल लक्ष्मीमार्गका प्रमुख चेतन बाराकोटी सुरक्षा तथा नगरस्तरीय सर्वपक्षीय समितिका सदस्यहरू तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाल लगायतको प्याकिङ तथा चारजनाभन्दा माथिको परिवारलाई २५ किलो चामल डेढ केजीदाल तथा अन्य सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।

राहतलाई व्यवस्थित गर्न नगरपालिकामा सर्वपक्षीय समितिको निर्माण भएको थियो । नगरपालिकाको टिम सहित यो सर्वपक्षीय समन्वय समितिका सदस्य समेत राहत वितरणमा खटिरहेका छन् ।

नगरपालिकाले वितरण गर्ने राहतलाई टोल विकासमार्फत नामावली छनौट गरिएको हुनाले राहत लक्षित वर्गमा पुग्नेमा आफू आशावादी रहेको नेकपा नगर संयोजक एवम् नगर स्तरीय सर्वपक्षीय समितिका सदस्य पर्शुराम सुवेदी बताउँछन् ।

नगरद्वारा गरिएको राहत वितरणलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् । यस अघि नै नगरपालिकाले विपद् व्यवस्थापन कोषको स्थापना गरेर नगरपालिकाले रु १५ लाख छुट्टाएको छ । नगरपालिकाको यो विपद् व्यवस्थापन कोषमा शनिवार सम्ममा ४० लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।

व्यक्तिगत तथा संघसंस्थामार्फत आफू खुसी राहत बाढ्दा दोहोरिने, पहुँचका भरमा मानिसले राहत पाउन सक्ने सम्भावना बढेको भन्दै नगरपालिकाले एद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ ।

https://youtu.be/BNEN9qfQj_k

प्रतिक्रिया दिनुहोस्