निजी मेडिकलमाथि बेलबारी नगरपालिकाको अनुगमन


बेलबारी, मोरङ / कोरोनाको त्रास तथा त्यसको बाहानामा सामान्य बिरामीलाई समेत उपचार नगरी अन्तै रेफर गरिएको जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले मेडिकलहरूको अनुगमन गरेर बिरामीको उपचार गर्न निर्देशन दिएको छ ।

शनिवार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगर स्तरीय अनुगमन समितिले बेलबारीका विभिन्न मेडिकलहरूको अनुगमन गरी कोरोनाको लक्षण बाहेकका बिरामीलाई अन्यत्र रेफर नगरी उनीहरूको उपचार गर्न निर्देशन दिएको हो ।

अनुगमन टोलीमा बेलबारी नगरपालिकाका नगर प्रवक्ता एवम् बेलबारी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष योगेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्मा तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कोरोना वाहाना बनाउँदै केही मेडिकलले हात भाँचिएको बिरामीलाई समेत उपचार नगरी फर्काएको गुनासो आएकोले नगरपालिकाले त्यस्ता मेडिकलहरूलाई आफ्नो धर्म सम्झेर काम गर्न भनिएको छ । यदि अनुगमन समितिको निर्देशनलाई अटेर गरे त्यस्ता मेडिकललाई कारबाही गर्न समेत नगरपालिका पछि नपर्ने अनुगमन समितिका संयोजक एवम् उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन ।

नगरपालिकाले निजी क्लिनिक समेतलाई यसअघि नै व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्