लकडाउनमा नोबेल अस्पतालमा बिरामीको भीड


विराटनगर, २१ चैत्र । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा बिरामीको भीड बढेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण देशभर गरिएको लकडाउनले केही साता यता अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै घटेको थियो । तर, अहिले पुनः बिरामीको चाप बढ्न थालेको हो ।

नोबेलको आकस्मिक कक्षमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको इमर्जेन्सी इन्चार्ज डा.अमित अग्रहरीले जानकारी दिए । ‘विगत एक हप्ता भन्दा बढी समययता बिरामी धेरै कम थिए ।’ उनले भने ‘अहिले दुई दिनयता बिरामीको चाप ह्वात्तै बढेको छ । लगभग पहिलेकै अवस्थामा बिरामी आउन थालिसकेका छन् ।’ अहिले दम, रुघाखोकी, मुटु रोग र नसा सम्बन्धी समस्याका बिरामी बढी आइरहेको डा.अग्रहरीले बताए ।

कतिपय निजी अस्पतालहरूले कोरोनाको डरले बिरामी लिन नमानिरहेका बेला केही दिन अघि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले कोरोनासहित जस्तासुकै समस्या भएका बिरामीको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला रहेको उद्घोष गरेका थिए । नोबेलमा कोरोनाका सम्भावित बिरामी र अन्य समस्याका बिरामीलाई छुट्टा–छुट्टै उपचार कक्षमा राखेर उपचार गरिँदै आएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् । ‘बिरामीहरूलाई सङ्क्रमणबाट जोगाउनका लागि बेग्ला–बेग्लै उपचार कक्षको व्यवस्था मिलाएका हौँ ।’ उनले भनिन् ।

नोबेलले स्वास्थ्यकर्मीहरुलाई सङ्क्रमणबाट जोगाउन र बिरामीमा पनि सङ्क्रमण फैलन नदिनका लागि उपचारमा खटिने सबै स्वास्थ्य कर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएको छ । दैनिक करिब ३ हजार बिरामीको उपचार गर्दै आएको नोेबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै सबैभन्दा ठुलो र स्तरीय अस्पताल हो ।

प्रतिक्रिया दिनुहोस्