बेलबारी जेसिजले दियो १५ क्विन्टल चामल


बेलबारी, मोरङ / बेलबारी नगरपालिकाले सञ्चालन गरेको बिपद व्यवस्थापन राहत कोषमा बेलबारी जेसिजले ५० हजार मूल्य बराबरको १५ क्विन्टल चामल हस्तान्तरण गरेको छ ।

शुक्रवार बेलबारी नगरपालिकामा आयोजित हस्तान्तरण कार्यक्रममा बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो रकम बराबरको चामल हस्तान्तरण गरेका हुन । कार्यक्रममा प्रमुख सुवेदीले बेलबारी जेसिजलाई धन्यवाद दिँदै अन्य संघसंस्थाहरुलाई समेत सहयोग गर्न आग्रह गरेका छन् ।

विश्वमा कोरोना (कोभिड १९) रोगको महामारीसँगै नेपालमा समेत रोकथाम र सावधानीका लागि सरकारले लकडाउन गरेको अवस्थामा दैनिक ज्यालादारी गर्ने र विपन्न वर्गका मानिसहरूलाई राहत प्रदान गर्न बेलबारी नगरपालिकाले बुधवार देखि सो कोष सञ्चालन गरेको हो ।

साथै आज शुक्रवार रमिते सामुदायिक लगायतका १० वटा सामुदायिक वनहरूले रु.१ लाखको दरले १० लाख दिने घोषणा गरेको छ । बिहीबार लालीगुराँस साकोस लगायतका ५ वटा सहकारी संस्थाले पनि १ लाख ५६ हजार दिने घोषणा गरेको छ । कोषमा बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ जम्मा गरिसकेको छ भने जनप्रतिनिधिहरूको एक महिनाको भत्ता समेत सो कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा राजनीतिक दल, गैरसरकारी संघसस्था, निर्माण व्यवसायी, वित्तीय संघसंस्थाहरु, समूह तथा ब्याक्तिहरुलाई सहयोग गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

https://youtu.be/ycE2jxQl8LA

प्रतिक्रिया दिनुहोस्