एकद्वार प्रणाली विपरीत राहत वितरण गरे सामाग्री जफत : बेलबारीले छुट्ट्यायो १५ लाख


बेलबारी, १९ चैत / बेलबारी नगरपालिकाले राहत सामाग्री वितरण गर्न एकद्वार प्रणाली लागु गरेको छ भने राहत वितरण गर्नका लागि १५ लाख सहितको बिपद व्यवस्थापक कोषको स्थापना गरेको छ । बुधवार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

बेलबारी नगरपालिकाको बिपद व्यवस्थापन कोष एनएमबी बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता न. ०५४००६२१२४६०००११ मा स्थानीय राजनीतिक दल, गैरसरकारी संघसंस्था, निर्माण व्यवसायी, वित्तीय संघसंस्थाहरु ,समूह तथा ब्याक्तिहरुलाई राहत वितरणका लागि रकम जम्मा गरी सहयोग गरिदिन नगरपालिकाले अनुरोध गरेको छ ।

राहत कोषमा सहयोग गर्नेहरूको बेलबारी नगरपालिकाको वेबसाइट, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नामा प्रकाशन प्रसारण समेत गर्ने नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक प्रदीप शाहाले बताए ।

यस्तै उक्त बैठकले एकद्वार प्रणाली भन्दा बाहिर गई राहत वितरण गर्ने कार्य गरेमा स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबाट समन्वय गरेर त्यस्ता राहत सामाग्री जफत गर्ने समेत निर्णय समेत गरेको छ । राहतका लागि नगरपालिकाले १५ देखी २५ किलो चामल, १ किलो नुन, डेढकिलो सम्म र एक डल्ला साबुन दिने समेत निर्णय गरेको छ । ४ जना सम्मको परिवारलाई १५ किलो तथा त्यहाँ भन्दा बढीको परिवारलाई २५ किलोको दरले राहत दिने समितिका संयोजक तथा नगरपालिकाका मेयर सुवेदीले बताए ।

यसै गरी नगरपालिकाले नोभल १९ कोरोना रोग रोकथाम तथा नियन्त्रण वडा समन्वय समिति समेत गठन गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो । यस अघि नै नोभल १९ कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक तथा नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरवासीलाई भोकै बस्न नदिने घोषणा गरी सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्