केराबारी गाउँपालिका अध्यक्ष कार्की भन्छन्,‘लकडाउनका कारण भोकै मर्न दिँदैनौ’


किशन शाही – 
केराबारी, १९ चैत्र । कोरोना भाइरस सङ्क्रमणबाट जोगाउन नेपाल सरकारले मुलुकभर गरेको लकडाउनका कारण केराबारी गाउँपालिकामा रहेका कोही पनि नागरिक भोकै मर्न नदिने भन्दै गाउँपालिकाले बुधवारदेखि राहत वितरण सुरु गरेको छ ।

लकडाउँनबाट दैनिक ज्यालादारीमा काम गर्ने र विपन्न परिवारमा छाक टार्न समस्या भइरहेको समाचारहरू आइरहेको बेला केराबारी गाउँपालिकाभित्र कोही पनि भोकै भएर बस्न नपर्ने र त्यसको जिम्बेबारी स्थानीय सरकारको हैसियतले गाउँपालिकाले लिने गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताए ।

प्रत्येक वडाका टोल विकास समिति मार्फत विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्दै आएका विपन्न परिवारका तथ्याङ्क सङ्कलन भई गाउँपालिकामा आइसकेको र १ हजार ५ सय २० घरपरिवारका लागि खाद्यान्न चाहिने आवश्यक खाद्य सामग्री वितरणको कार्य सुरु गरेको छ ।

पहिलो चरण अन्तर्गत केराबारी गाउँपालिकाको वडा नं. १, २ र ३ मा वडाध्यक्षहरू मार्फत खाद्य सामग्री वितरण गरिएको हो । वडाबाट छनौट भई आएका मध्ये वडा नं. १ मा ११२, वडा नं.२ मा ६७ र वडा नं.३ मा ७५ गरी २५४ घरपरिवारलाई ४ हजार ३ सय २० केजी चामलसहितको खाद्य सामग्री वितरण गरिएको हो । बाकी वडामा पनि बिहीबार देखि नै हस्तान्तरण गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

पाच जना सम्म परिवार भएकालाई प्रति परिवार १५ र पाँचदेखि माथि भएका परिवारलाई २० केजीको दरले चामल, दुई केजीका दरले नुन सहित प्रति परिवार एकका दरले दाल, तेल पाउने गरी वडाध्यक्षहरूलाई हस्तान्तरण गरिएको पालिका उपाध्यक्ष शान्ति कुमारी लिम्बू भुजेलले बताएकी छन् ।

पालिकाले खाद्य सङ्कट उत्पन्न हुन नदिन र पालिका भित्र रहेका विपन्न र ज्यालादारीमा काम गर्ने परिवारका लागि राहत सामग्री खरिद गर्न र आवश्यक रकमको व्यवस्थापन अध्यक्ष रोहित वहादुरक कार्कीको अध्यक्षतामा कोरोना भाइरस प्रतिकार्य समन्वय समिति गठन गरी राहत कोष समेत सञ्चालनमा ल्याएको छ ।

विभिन्न दाता तथा संघसंस्थाबाट प्राप्त रकमहरूलाई एकीकृत गरी एकद्धार प्रणाली मार्फत वितरण गर्न पालिकाले राहत कोष सञ्चालनमा ल्याएको हो । राहत कोषको खातामा पालिकाका कर्मचारीहरूले १ दिन र जनप्रतिनीधिहरुले १५ दिन बराबरको रकम जम्मा गर्ने निर्णय भएको वडा नं. ८ का वडाध्यक्ष मनोज भुजेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्