सुनवर्षी नगरमा वाड अध्यक्षको आफ्नै लगानीमा क्वारेन्टाइन निर्माण


सुनवर्षी, १७ चैत / विश्वभर फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ध्यानमा राख्दै मोरङ सुनवर्षी नगरपालिकामा, वाड नं.२ का अध्यक्ष प्रताप तामाङद्वारा १० बेडको क्वारेन्टाइन निर्माण भएको छ । क्वारेन्टाइन आज सोमबार अमरदह स्वास्थ्य चौकीमा निर्माण भएको हो ।

अध्यक्ष तामाङका अनुसार उनले प्राप्त गर्ने सेवासुविधाको आर्थिक आयबाट १० बेडको क्वारेन्टाइन निर्माण गरेका हुन । २ लाख ९२ हजार बराबरको १० बेडको क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष तामाङले जनाएका छन् ।

यस महामारीमा धन भन्दा नगरवासीको स्वास्थ्य जोगाउन महोत्वपुर्ण भएकोले क्वारेन्टाइनको व्यवस्थापन आफै गरेको अध्यक्ष तामाङले बताएका छन् । उनले भने, ‘यस बेला धन हैन हामीले नगरवासीको स्वास्थ्य जोगाउनु पर्छ । रोग लाग्नु भन्दा सावधानी अपनाउनु नै उत्तम हुन्छ ।’

क्वारेन्टाइनको उद्घाटन सुनवर्षी नगरपालिकाका प्रमुख काली प्रसाद दासले गरेका छन् । क्वारेन्टाइन व्यवस्थापनको लागि प्रयोग भएको सामाग्री अध्यक्ष तामाङले नगरपालिकाको नै हुने बताएका छन् । अहिले अमरदह स्वास्थ्य चौकी ५ जना स्वाथ्यकर्मीहरु खटिरहेका छन् ।

वाड नं. २ भित्र कोरोनाको सङ्क्रमणबाट जोगिन ठाउँ ठाउँमा साबुन पानीको व्यवस्थापन गर्नुको साथै मास्क पनि वितरण गरेको अध्यक्ष तामाङले जनाएका छन् । तामाङका अनुसार वाड नं. २ मा ज्याला मजदुरी गर्ने २ सय परिवारलाई मङ्गलवार खाद्यान्न वस्तु वितरण गरिन्दैछ । प्रति परिवार २० केजी चामल, २ केजी दाल र १ केजी नुन वितरण गर्ने तामाङले जनाएका छन् ।

नगर भित्र विदेशबाट आउने मानिसहरूमा विशेष निगरानी राखिरहेको तामाङले बताए । तामाङले नगरबासीहरुलाई कोरोना बारे सचेत हुन आग्रह गर्दै लकडाउनको उल्लंघन गर्ने वाड तथा नगरवासीमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्