लकडाउनमा बेलबारी बहुउद्देश्यीय सहकारीले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै


केशु विरही –

बेलबारी, मोरङ / बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाले यस लकडाउनको बेला कोरोना अंशका बिरामीको उपचारको लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारले हिजोबाट लकडाउन लागु गरेसँगै संस्थाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेको छ ।

नेपालमा पनि कोरोना सङ्क्रमित बिरामीको पुष्टि भएसँगै सरकारले देशमा हिजो देखी लागु गरेको लकडाउन हुँदा सबै सवारी साधन ठप्प भएको छ भने अत्यावश्यक काममा प्रयोग हुने सवारी साधन मात्र सञ्चालनमा छ ।

बेलबारी वाड नं. ३ मा अवस्थित बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाले बेलबारी नगरपालिका र त्यसका आसपासका नगरपालिकाका कोरोनाबाट सङ्क्रमित नागरिकलाई अस्पताल लैजान सहयोग पुगोस् भनेर आफूहरूले यस्तो निर्णय गरेको अध्यक्ष प्रताप थापाले जानकारी दिएका छन् ।

बेलबारी ३, मा मुख्य कार्यालय रहेको यस सहकारीले विगत लामो समयदेखि एम्बुलेन्स सेवा तथा बेलबारी ५ मा कृषि फार्म सञ्चालन गर्दै आएको छ ।
संस्थाको यस्तो निर्णयलाई नगरपालिकाले प्रशंसा गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरवासीको स्वास्थ्यमा संवेदनशील भएर काम गरिरहेको वेलामा बेलबारी बहूमुखीको यो निर्णय प्रशंसायोग्य रहेको बताए । सर्वसाधारणले पनि सहकारीको यो निर्णयलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्