हिरा लुटको आरोपमा तीन जना प्रहरी र पत्रकार पक्राउ


मकवानपुर, १० चैत । हिरा लुटको आरोपमा तीन जना प्रहरी र एक पत्रकारलाई मकवानपुरको पालुङबाट प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मकवानपुरको टोलीले सोमबार राति हिरा लुटेर काठमाडौँ फर्कँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशील राठौरले जानकारी दिएका छन् ।

मकवानपुर प्रहरीले गिरफ्तार हुनेहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन । तर, पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय सिआरभी शाखा दरबन्दी भई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, जवान वीरबहादुर बस्नेत, हेमकान्त मगर र पत्रकार सुजन आचार्य रहेको स्रोतले जानकारी दिएको छ । उनीहरूको साथबाट एउटा चाइनिज पेस्तोल पनि बरामद गरिएको जनाइएको छ ।

पूर्व तयारीका साथ काठमाडौँबाट लुटपाट गर्ने उद्देश्यले उनीहरू मकवानपुर पुगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयको सिआरभी टोलीमा कार्यरत उनीहरू लुटपाटको उद्देश्यले नै काठमाडौँबाट मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरू काठमाडौँबाट मकवानपुर पुगेका थिए । तर कैलाश गाउँपालिकामा उनीहरूले हिरा लिई आफूहरू प्रहरी भएको र हल्ला गरे फसाई दिने भन्दै हिरा लिएर भागेको पाइएको छ ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरूलाई पालुङबाट पक्राउ गरेको हो ।
हिरा लुटेर भाग्दै गर्दा उनीहरूलाई प्रहरीले रोकी खानतलासी गरेको थियो । आइतबार साँझ पक्राउ परेका उनीहरूले हालसम्म केही पनि बताएका छैनन् । उनीहरूलाई यति बेला जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्