पाथीभरा महिला समाजद्वारा मास्क र साबुन वितरण


मणिराम दाहाल – सुन्दरहरैंचा, ८ चैत / मोरङको सुन्दरहरैंचा स्थित पाथीभरा स्वतन्त्र महिला समाजको आयोजनमा विश्वव्यापी कोरोना भाइरस कोभिड १९को सङ्क्रमणको रोकथामका लागि सचेतना मूलक जानकारीका साथमा सामाग्री वितरणको कार्यक्रम गरिएको छ ।

सुन्दरहरैंचाको ५ को मुसहर बस्ती,वडा नं।२को चौधरी बस्ती तथा वडा नं. ९ को मुस्लिम बस्तीमा सर्जिकल मास्क लगाउने,साबुन पानीले हात धुने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता सचेतना मूलक अभियान सञ्चालन गरिएको आयोजक समाजकी अध्यक्ष प्रमीला दुलालले बताइन । उनले कार्यक्रममा मास्क र हात धुने साबुन समेत सेवा अनि सहयोगको भावनाले बालबालिका लगायत सबै उमेर समूहलाई वितरण गरिएको हुँदा कोरोनाको सङ्क्रमणबाट आफू पनि बच्न अरूलाई पनि बचाउन जरुरी रहेको उल्लेख गरिन ।

कोरोना भाइरस कोभिड १९को सङ्क्रमणको रोकथाम गर्न सचेतनामूलक कार्यक्रमका लागि पाथीभरा स्वतन्त्र महिला समाजले, संस्थाकी अध्यक्ष दुलालको नेतृत्वमा १५जना सदस्यको टोली मार्फत सचेतना मूलक कार्यक्रमका साथमा सामाग्री वितरण गरेको हो ।

बिपदको समयमा आवश्यकता अनुसारको सहयोग गर्नु पर्दछ भन्ने उद्देश्यले अहिलेको यो विश्व भरि फैलिएको महामारी कोरोना भाइरसको सङ्क्रमणबाट सर्वसाधारणलाई जोगाउन र सकारात्मक जनचेतना फैलाउनका लागि समेत कार्यक्रम गरिएको आयोजक समाजकी सहसचिव सुनिता ढकाल पोखरेलले बताइन ।

पाथीभरा स्वतन्त्र महिला समाजको चाहाना, समुन्नत तथा आदर्श समाजको स्थापना भन्ने नाराका साथमा विगत केही वर्ष देखि महिला दिदिबहिनीहरुको सहभागितामा स्थापना भएको यस संस्थाले छोटो समयमा विविध सेवामूलक काम गरी अघि बढेको समाजकी सचिव बुन्दा थापा दाहालले जानकारी दिइन।

प्रतिक्रिया दिनुहोस्