म्याग्दीमा जिप दुर्घटना हुँदा गम्भीर घाइतेलाई हेलिकोप्टरबाट पोखरा पुराइयो


म्याग्दी, ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा ग २ च ५९८८ नम्बरका जिप दुर्घटना हुँदा गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा ल्याइएको छ ।

शुक्रवार बिहान रघुगंगा गाउँपालिका–४ को दन्गाममा जिप दुर्घटना हुँदा ९ जना घाइते भएको छ । घाइतेमध्ये ९ वर्षीय मिञ्जा पुन र ४१ वर्षीय भदेवी गर्बुजाको अवस्था गम्भीर रहेको र उनीहरूलाई हेलिकोप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा पठाइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् ।

प्रजिअ ढकालका अनुसार दुर्घटनामा घाइतेहुनेहरुमा युवी गर्वुजा, सुकमाया गर्वुजा, मनबहादुर तिलिजा, वर्षा शेरपुञ्जा, हमाया पुन, साविना शेरपुञ्जा, मिञ्जा पुन र भदेवी गर्बुजा घाइते भएका हुन् ।

भिरालो ठाउँमा रोकिराखेको जिप एक्कासि चिप्लेर दुर्घटना भएको र दुर्घटनाको समयमा चालक जीपमा नभएको उनले जानकारी दिए । उद्धारपछि दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्