विराटनगर, ६ चैत्र । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
सभापतिमा उम्मेदवारी दिनका लागि आफूले सबै तयारी गरिसकेकाले अब पछि नहट्ने कोइरालाले बताए । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले १४ महाधिवेशनबाट आफू सभापति बन्ने दाबीसमेत गरेका छन् । ‘महाधिवेशनको तयारीका लागि देशभरका नेता कार्यकर्तासँग साक्षात्कार गरिरहेको छु ।’ नेता कोइरालाले भने ‘मलाई धेरैको साथ छ, अबको सभापति मै हुँ ।’
धेरै नेता कार्यकर्ताहरूले आफूलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गर्ने गरेको उनले बताए । सबैको सुझाव र आग्रहमा अघि बढिरहेको बताउँदै उनले पार्टीलाई सही दिशामा अघि बढाउन पनि आफूले सभापतिमा उम्मेदवारी दिन आवश्यक रहेको जिकिरसमेत गरेका छन् ।