बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन बेलबारी नगरपालिकाको अनुगमन


बेलबारी, मोरङ/ कोरोनाको त्रास सँगै बजारमा अत्यावश्यक सामाग्रीहरूको कृत्रिम अभाव सिर्जना गरिएको जनगुनासो बढेसँगै बेलबारी बजारको अनुगमन गरिएको छ ।

मङ्गलवार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको अनुगमन समितिले बेलबारीका विभिन्न ग्याँस डिलर, मेडिकल पसल लगायतको अनुगमन गरी बिक्री वितरण सहज बनाउन ब्यबसायीहरुसँग आग्रह गरेको थियो ।

अनुगमन टोलीमा उपप्रमुख सहित बेलबारी वडा नम्बर १० का अध्यक्ष गङ्गा याक्खा, बेलबारी ३ की सदस्य बिन्दु कला गुरुङ, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकी, सशस्त्र प्रहरी बेस क्याम्पस लक्ष्मीमार्गका प्रमुख चेतन बाराकाेटी, बेलबारी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की, बेलबारी स्वास्थ्य शाखा प्रमुख सन्तोष बिक, बेलबारी नगरपालिकाका सूचना अधिकृत महेन्द्र खड्का, युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेत लगायतको टोली रहेको थियो ।

अनुगमन टोलीले बिशेषगरी ग्याँस डिपो, पेट्रोल पम्प लगायतका ठाँउहरुमा अनुगमन गरेका छन् । बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन र भएका सामान, मास्क लगायतका अत्यावश्यक सामाग्रीहरूको सहज बिक्री वितरणका लागी अनुरोध समेत गरिएको उपप्रमुख एवम् उपभोक्ता हक संरक्षण समिति बेलबारीकी संयोजक पराजुलीले बताइन ।

सोमबार मात्र युवा जागरण अभियान नेपालले बजार अनुगमनको माग सहित उपप्रमुख पराजुलीलाई ज्ञापन पत्र बुझाएको थियो ।

https://youtu.be/0j3yILTFcW0

प्रतिक्रिया दिनुहोस्