जनकपुरधाम, ४ चैत । प्रदेश–२ को नाम र स्थायी राजधानीको टुंगो गोप्य मतदानबाट आज (मङ्गलवार) मतदानबाट लगाइने छ । मतदानका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ ।
मतदान सुरु हुनुअघि सांसदहरूलाई बोल्न दिइने सभामुख सरोजकुमार यादवले जानकारी दिएका छन् । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिए लगत्तै मतदान हुने सभामुख यादवले बताएका छन् । प्रदेश–२ मा कुल १०७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र सङ्घीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भए पनि यो कुनै दलसँग छैन ।
यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।
प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन । प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेस’, नेकपाले ‘जानकी’ र काँग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।