काभ्रे पनौती नगरपालिकाको चारकिल्ला तोकेर कर्फ्यु आदेश जारी


काभ्रेपलान्चोक, ४ चैत । टिपरको ठक्करबाट काभ्रेमा आमा–छोरीको मृत्यु भएको विषयलाई लिएर आगजनी र तोडफोड थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मङ्गलवार बिहान नौ बजेदेखि लागू हुने गरी पनौती नगरपालिकाको चारकिल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए प्रजिअ तिमिल्सिनाले पनौतीको पूर्व शङ्ख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको हो । त्यसै गरी बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ ।

कर्फ्युपछि अवस्था सामान्य रहेको र समस्या समाधानका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । टिपरको ठक्करबाट बाटो हिंडिरहेकी ३ वर्षकी बालिका र ३३ वर्षकी आमा (आमा–छोरी) को मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका थिए ।

उक्त क्रम मङ्गलवार पनि नरोकिएपछि प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ । स्थानीय प्रशासनले प्रदर्शनकारीले गोली समेत चलाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्