नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाशप्रति डा.सुनिल आक्रोशित : तर किन ?


विराटनगर, ३ चैत । नेपाली काँग्रेसका उदयवान् नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोश पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको सङ्क्रमणमा अपनाउनुपर्ने सावधानीप्रति नेताहरू संवेदनशील नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोश सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् ।

शर्माले कोरोना भाइरस सोझा निमुखा, गरिब, भाउन्नेका जनतालाई मात्र लाग्छ, सांसद र नेतालाई लाग्दैन भन्दै प्रश्न गरेका छन् । ‘एयरकण्डिसन भएको भवन हो पार्लियामेण्ट, काँग्रेसका सांसदलाई संसद्मा जानबाट किन नरोकेको ?’ प्रवक्ता शर्मालाई प्रश्न गर्दै उनले लेखेका छन् ‘विद्यालय बन्द हुने, परीक्षा रोकिने तर सयौँ विशिष्ट व्यक्ति भेला हुने संसद् चैँ नरोकिनुपर्ने कारण को हो ?’ जोसुकैको असावधानीले पनि कोरोनाको सङ्क्रमण फैलनसक्ने हुनाले त्यसप्रति जनस्तरमा मात्र नभई केन्द्रीय नेता तथा सांसद पनि उत्तिकै सजग हुनुपर्ने उनको तर्क छ ।

कोरोनाको सङ्क्रमण रोकथामका लागि पार्टीले सार्वजनिक कार्यक्रम बन्द गर्ने क्रममा गुटबन्दी र विभेद उदाङ्गो भएको उनले उल्लेख गरेका छन् । ‘नेतृ मञ्जु खाँडको सिराहा र जनकपुरको कार्यक्रममा कोरोना नआउने, बालकृष्ण दाइको ललितपुरको कार्यक्रममा कोरोना नआउने, अनि मोरङको भाउन्नेमा भएको कार्यक्रम, शेखर कोइराला र सुजाता कोइरालाले गरेको कार्यक्रममा मात्रै कोरोना आउने ?’ उनले प्रश्न गरेका छन् । ‘यो कस्तो कोइरालालाई मात्र लाग्ने कोरोना हो ?’ व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्दै उनले सबै कार्यकर्ताले बुझ्ने गरी जवाफ दिन प्रवक्ता शर्मालाई आग्रह गरेका छन् ।

कोरोनाले चिसियो झापाली दुई शर्माको सम्बन्ध

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र महासमिति सदस्य डा.सुनिल शर्मा दुवै झापाली हुन् । प्रवक्ता शर्मा काँग्रेसको उदयवान् नेताको रूपमा परिचित छन् भने डा.शर्मा पनि राजनीतिसँगै समाजसेवाका माध्यमबाट लोकप्रिय छन् । झापामा जन्मिएर मोरङलाई राजनीतिक कार्यक्षेत्र बनाएका डा.शर्मा कम्युनिस्टको ‘लालकिल्ला’ मानिने मोरङको क्षेत्र नम्बर ३ लाई ‘डेन्जर जोन’ मा परिवर्तन गराउन सफल बनेको भनेर पार्टीभित्र चर्चामा छन् । प्रतिनिधिसभा निर्वाचनमा ४० हजार ५ सय ६ मत ल्याएर बाम गठबन्धनका उम्मेदवार एवं वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग झिनो मतान्तरले पराजित भएका डा.शर्मा आगामी निर्वाचनमा ‘लालकिल्ला’ तोड्ने दाउमा छन् ।

पार्टीभित्र शसांक, शेखर र सुजाता कोइरालाको विश्वासपात्र मानिने डा.शर्मा नेता कृष्णप्रसाद सिटौलासँग पनि नजिक छन् । उनले पार्टी प्रवक्ता शर्मालाई पनि ‘रोलमोडल’ नेता मान्दै आएका थिए । शर्माले सामाजिक सञ्जालमा ‘केही अघिसम्म मेरो रोलमोडल नेता’ भनेर पार्टी प्रवक्ता शर्मालाई सम्बोधन गर्नाले पनि उनीहरूबिचको सम्बन्ध चिसिएको प्रस्ट हुन्छ । डा.शर्माले कोरोनाको विषयमा प्रवक्ता शर्माप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमै सार्वजनिक गर्नुले पनि दुई झापाली शर्माबिचको सम्बन्ध चिसिएको छर्लङ्ग भएको छ ।

प्रतिक्रिया दिनुहोस्