महोत्तरीमा सामूहिक बलात्कार घटनाका आरोपित चार जना पक्राउ


महोत्तरी, २८ फागुन । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपित चार जनालाईलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमै सार्वजनिक गरेको छ ।

मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबरजस्ती बलात्कार गर्ने सातको समूहमध्ये चारलाई पक्राउ गरी प्रहरीले मङ्गलवार सार्वजनिक गरेको हो ।

परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न पुगेका जलेश्वर–६ कै १६ र १७ वर्षीय दुई युवतीलाई समातेर मुख थुन्दै एकान्त स्थलमा र्पुयाएर सात जनाले सामूहिक बलात्कार गरेका थिए ।

घटनामा संलग्न तीन अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
पक्राउ परेका चारैलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्