काठमाडौँ, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा विष्फोट भएकै क्षेत्रबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लवका एक नेता पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला कमिटी सदस्य देवबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । उनलाई भक्तपुरको मनोहराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख (एसपी) सविन प्रधानले जानकारी दिएका छन् ।
उनलाई बास्कोटाको घरमा विष्फोट भएको केही घण्टामै पक्राउ गरिएको हो । ‘महोहराबाट विप्लव समूहका एक नेता पक्राउ परेका छन्’, एसपी प्रधानले भने, ‘उनीमाथि अनुसन्धान भइरहेको छ ।’
उनीमाथि बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँको घरमा विष्फोट गराएको प्रहरीको आरोप छ । बास्कोटाको घरमा भएको विस्फोटमा पनि उनको संलग्नता हुनसक्ने प्रहरीको आशङ्का छ ।