पूर्व सञ्चारमन्त्री बास्कोटाको घरमा बम विष्फोट


काठमाडौँ, २८ फागुन । भक्तपुरको मनहरा फाँटस्थित पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा आज (बुधवार) बिहान पौने ८ बजे बम विष्फोट भएको छ । घरमा आफू सर्ने तयारी गरिरहेका बेला बम विष्फोट गराइएको घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने बास्कोटाले बताएका छन् ।

विस्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन् । स्थानीय बम विस्फोटले घर भूकम्पले जस्तै हल्लाएको बताएका छन् ।घटनाबारे बास्कोटाले भने, ‘सम्बन्धित निकायले छानबिन गरोस्, सत्यतथ्य बाहिर आओस् । साढे तीन तल्ला घरको एक तल्लाको काम सकेर बाँकी काम जारी रहेको उनले बताएका छन् ।

निर्माण सकिए लगत्तै बास्कोटा घर सर्ने तयारीमा थिए । मन्त्री भएयता बास्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् । बम विस्फोटका कारण उनको छिमेकी कपिलदेव घिमिरेको घरमा समेत क्षति पुगेको छ । बमले घरको चार तला माथिको ढोकामा क्षति पुगेको जनाइएको छ । सिसा पनि फुटेका छन् । घर अगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ ।

विष्फोट कसले र किन गरायो भन्ने यकिन नभए पनि प्रहरीले ‘प्रतिबन्धित विप्लव समूह’ ले गराएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले प्रेसर कुकर बम विष्फोट गराइएको अनुमान गरेको छ । थप अनुसन्धानका लागि घटनास्थलमा अहिले नेपाली सेनाको टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्