१४ वर्षमुनिका मजदुर (कामदार) को सात बालकको उद्धार


काठमाडौँ, २७ फागुन । काठमाडौँका विभिन्न स्थानबाट १४ वर्षमुनिका मजदुर (कामदार) को रूपमा प्रयोग गरिएका सात बालकको उद्धार गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपास क्षेत्रका साथै काडाघारीका होटेल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् ।

यही फागुन ४ र १९ गते गरिएको अनुगमनमा मकवानपुर, दाङ र प्युठानका ती बालकलाई उद्धार गरी बाल उद्धार नेपालको स्थानीय साझेदारी संस्था ईस्थर वेन्जामिन स्मृति फाउन्डेसनको अल्पकालीन स्याहार केन्द्रमा पठाइएको छ ।

बाल उद्धार नेपालका प्रमुख जमुना श्रेष्ठ भट्टराईले ती बालकको परिवारमा सम्पर्क गरी बालकलाई आधिकारिक रूपमा हस्तान्तरण गरिने जानकारी दिए । बालबालिकाको अधिकार, संरक्षण र शिक्षाको क्षेत्रमा क्रियाशील हुँदै आएको उक्त संस्थाले करिब २० वर्षदेखि नेपालको बालबालिकामाथि हुने श्रम शोषणका समाचार तथा सूचनाका आधारमा उनीहरूको उद्धार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्