गोरखामा जिप दुर्घटना हुँदा ११ जना घाइते


गोरखा, २७ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बा १५ च १०१६ नम्बरको बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले बताएका छन् ।
दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।जिप सडकबाट झन्डै ५० मिटर पछाडि खसेको गुरुङले बताए । ‘घाइतेमध्ये दुई जनाको दाँत समेत झरेको अवस्था छ, घटनालगत्तै प्रहरी समेत घटनास्थलमा आइपुगिसकेको गुरुङले बताएका छन् ।

दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीय विमला गुरुङ, सोही ठाउँकी ६० वर्षीय बुद्धबहादुर गुरुङ, २० वर्षीय रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीय क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीय टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीय सुनिता गुरुङ र ७३ वर्षीय सुकमाया गुरुङ घाइते छन् ।
अन्य घाइतेमा सौरपानीकी ५२ वर्षीय राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले बताएका छन् ।

घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर रहेको उनले बताए । घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ । घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्