भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र सम्पन्न हुने


काठमाडौँ, २६ फागुन । राष्ट्रिय प्राथमिकताको आयोजनामा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने भएको छ ।

विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए । ३२ महिनाअगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्स्ट्रक्सन लिमिटेडले पाएको थियो । उक्त सडक खण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ६० प्रतिशत भएको छ ।

गएको पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक अर्व ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भए पनि आगामी वैशाख १८ गतेसम्म म्याद थप गरिएको थियो । भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका इन्जिनियर सागर पोखरेलका अनुसार सडक निर्माणको काम सन्तोषजनक रहेको छ ।

उनले भने, ‘काम सन्तोषजनक नै छ तर गत वर्ष समयमै कच्चापदार्थ नपाउँदाको असर अहिलेसम्म परेको हो जसका कारण ढिलाइ भएको हो । अहिलेको गतिमै काम भएमा पनि वैशाखभित्रै काम सम्पन्न हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्