मिनीट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु


चितवन, २६ फागुन । पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।सोही कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना ५ ख ९६२२ नम्बरको ट्रकमा कटारीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५९२ नम्बरको बस आज बिहान ठक्कर खाएको थियो ।

ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्